काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकासका लागि सुशासन आवश्यक भएको बताएका छन्।
गोरखा-काठमाडौँ सम्पर्क मञ्चद्वारा मंगलबार उनकै निवास खुमलटारमा आयोजित बधाई कार्यक्रममा सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्न आर्थिक क्रान्ति गर्नुपर्ने र त्यसका लागि आफू गोरखा पुगेको बताए।
राष्ट्रलाई एकता, समृद्धि र सुशासनतिर लैजाने उपयुक्त थलो गोरखा हो । त्यहाँको जनताको भरोसा र विश्वासको र बलमा मैले राष्ट्रिय एकता पनि कायम गर्नुपर्छ।राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्नुपर्छ।’
अध्यक्ष दाहालले आफूलाई गोरखाली जनताले दिएको विश्वास र जिम्मेवारी पूरा गर्ने सङ्कल्प गरे। उनले आगामी पाँच वर्षमा गोरखा जिल्लामा जनताले देख्ने, बुझ्ने महसुस गर्ने गरी विकास गर्ने दाबीसमेत गरे।
उनले भने, ‘गोरखामा शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र खाद्य सम्प्रभुता, कृषिको आधुनिकिकरण लगायतका यी सबैमा मेरो ध्यान छ। ठूला परियोजनालाई पूर्णतामा लैजान र नयाँ परियोजना सुरु गर्नुपर्ने पनि छ। यी सबै पूरा गर्न तपाईंहरू सबैको साथ सहयोग मिल्नेमा म विश्वस्त छु।’
अध्यक्ष दाहालले गोरखाली जनसमुदायको सद्भावले सकारात्मक ऊर्जासहित काम गर्न आफूलाई थप उत्प्रेरणा प्रदान गरेको बताए।