नेपाली टिम टीटूके पब्जी विश्वकपको फाइनलमा

64

काठमाडौं । नेपाली टिम ट्रेण्ड टू किल (टीटूके) पब्जी मोबाइल विश्व च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गरेको छ ।

विश्व च्याम्पियनसिपको छनोट प्रक्रिया पार गरी प्रतियोगिता खेलेका नेपालका तीन टिममध्ये टीटूकेले सबैभन्दा ठूलो सफलता पाएको हो । यो नेपाली पब्जीकै सबैभन्दा ठूलो सफलता हो । टीटूकेका अभिशेकसिंह, सुयोग मुल्मी, वसन्त गौतम, सन्देश प्रधान र रिग्देन बज्राचार्यले यो सफलता दिलाएका हुन् ।

एल्लो ग्रुपमा रहेको टीटूकेले समूहमा रहेका १६ टिममध्ये तेस्रो हुँदै फाइनल चरणमा प्रवेश पाएको हो । जापानको आरसी टिमसँग समान २१४ अंक रहे पनि प्रदर्शनका आधारमा टीटूके भाग्यमानी बनेको हो । यो समूहबाट मलेसियाको गीक टिम २९२ अंक र मलेसियाको फोर एएमले २३१ अंकका साथ क्रमसः शीर्ष र दोस्रो स्थानमा रहेर फाइनल चरणका लागि छनोट भएका हुन् ।

तेस्रो संस्करणको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा पहिलोपल्ट नेपालबाट तीन टिम छनोट भएका हुन् । यसअघि नेपालको डीआरएसले मात्र खेलेको थियो । डीआरएस समूह रेडमा छैटौं स्थानमा रहेर सर्भाइभल चरणका लागि छनोट भएको छ । अर्को नेपाली टिम स्काईलाइट्ज समूह ग्रीनमा रहेर नवौं हुँदै सर्भाइभल चरणका लागि छनोट भएको छ ।