ललितपुर । ललितपुरमा तीनवटा संघीय निर्वाचन क्षेत्र र ६ वटा प्रादेशिक निर्वाचन क्षेत्र छ । हालै सम्पन्न निर्वाचनमा पाँचवटा क्षेत्रमा एमाले, तीनवटामा कांग्रेस र एउटामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरेको छ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभातर्फ कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले एक/एक क्षेत्रमा जित हासिल गरेको छ । त्यस्तै प्रदेशसभातर्फ एमालेले ४ र कांग्रेसले २ निर्वाचन क्षेत्रमा जितेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका उदयशमशेर राणा र क्षेत्र नं. २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले विजयी हासिल गरे । त्यस्तै क्षेत्र नं.३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले जित हासिल गरेकी छिन् । त्यस्तै प्रदेशसभामा ललितपुर १ को प्रदेशसभा १ मा नेकपा एमालेका मधुसुदन पौडेल र प्रदेशसभा २ मा कांग्रेसका मीनकृष्ण महर्जनले निर्वाचित भए ।
ललितपुर क्षेत्र नं १ मा निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यलाई निर्वाचन अधिकृत बालकृष्ण निरौलाले ७ मंसिर बुधवार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । निर्वाचन अधिकृत बालकृष्ण निरौलाले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रतिनिधिसभामा निर्वाचित राणाले २३ हजार ८ सय ९२ मत, प्रदेशसभामा निर्वाचित पौडेलले ११ हजार २ सय ९९ मत र महर्जनले १३ हजार ३ सय ७८ मत प्राप्त गरेका छन् । ७४ हजार ३ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ५ सय ८३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ललितपुर २ को प्रदेशसभा १ मा एमालेका रामेश्वर श्रेष्ठ र प्रदेशसभा २ मा कांग्रेसका रामकृष्ण चित्रकारले जित हात पारे । प्रतिनिधिसभामा निर्वाचित महर्जनले १५ हजार २५ मत, प्रदेशसभामा निर्वाचित श्रेष्ठले ८ हजार २ सय ९८ मत र चित्रकारले ६ हजार ९ सय ९५ मत प्राप्त गरे । ८१ हजार ८ सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५३ हजार १ सय ७७ मत खसेको क्षेत्र नं. २ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।