३ जिल्लाको चुनावी विवाद यसरी हुँदैछ समाधान

37

काठमाडौं । ४ मंसिरमा मतदानका क्रममा विवाद भएका तीनवटा जिल्लाको समस्या समाधानका लागि निर्वाचन आयोगले पहल थालेको छ । समस्या समाधानका लागि आयोगले मतदान स्थगित भएको बाजुरामा १० मंसिरमा पुनः मतदान गराउने निर्णय नै गरिसकेको छ भने स्याङ्जा–२ र दोलखामा सुरू हुन नसकेको मतगणनालाई अगाडि बढाउने गरी आयुक्तहरूको नेतृत्वमा अध्ययन अगाडि बढाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ४ मंसिरमा मतदानका क्रममा विवाद भएका सबै जिल्लाका विवाद आगामी १६ मंसिरभित्र मतगणना सक्ने गरी समाधान गर्ने अनलाइनखबरलाई बताए ।
‘बाजुरामा स्थगित भएको मतदान १० मंसिरमा हुन्छ’, प्रमुख आयुक्त थपलियाले भने, ‘स्याङ्जा र दोलखामा सुरू हुन नसकेको मतगणनाको विषयमा पनि हाम्रा आयुक्तज्यूहरू पुगेर अध्ययन भइरहेको छ । अध्ययनपछि आएको सुझावअनुसार समाधान निकाल्छौं । १६ मंसिरभित्र निर्वाचनका सबै काम सम्पन्न गरिसक्छौं ।’

उनका अनुसार बाजुरामा मतदान स्थगित भएका मतदान केन्द्रहरूमा १० गते निर्वाचन गर्ने गरी तयारी सम्पन्न भइसकेको छ । त्यस्तै दोलखामा मतदान सम्पन्न भए पनि मतगणना सुरू हुन सकेको छैन । त्यहाँ आयुक्त नेतृत्वको टोलीले अध्ययन गरेर फर्किसकेको छ । उक्त टोलीले प्रतिवेदन पेश भएपछि के गर्ने भन्ने निर्णय लिने प्रमुख आयुक्त थपलियाले बताए । उनका अनुसार स्याङ्जा–२ मा पनि मतदान सम्पन्न भएर मतगणना सुरू हुन सकेको छैन । त्यहाँको समस्या समाधानका लागि आयोगले आयुक्त नेतृत्वको टोली अध्ययन गर्न पठाएको छ । उक्त टोलीको सुझावअनुसार थप निर्णय लिने थपलियाको भनाइ छ ।