पर्सा–४ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

41

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामेश रिजाल निर्वाचित भएका छन् । पर्साको पोखरयास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन् ।

बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा कांग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएका पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

उनले प्रदेशसभातर्फ ४ (१) मा शङ्करप्रसाद चौधरी र (२) मा जसपाका उम्मेदवार सिंघासन साह कलवार निर्वाचित भएको बताए । एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै शङ्कर चौधरी दोस्रोपटक निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरी विजयी भएका मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । उनले क्षेत्र नं ४(२) मा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई दुई हजार सात सय ४५ मतान्तरले पराजित गर्दै सिंघासन साह कलवार दोस्रोपटक निर्वाचित भएको बताए ।

उनान्तीस हजार मतगणना गर्दा कानुले १२ हजार छ सय ४० मत प्राप्त गर्दा कलवारले १५ हजार तीन सय ८५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए ।