दाङ-२ मा भेटिए हस्ताक्षर नभएका ८८ मतपत्र

54

दाङ । दाङ क्षेत्र नम्बर २ को मतगणना गर्ने क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका ८८ वटा मतपत्र भेटिएका छन् । यही विवादका कारण केहीबेर रोकिएको मतगणना अहिले भने जारी छ ।

हस्ताक्षर नभएका मतपत्रबारे जाँझबुझ गर्ने जिम्मा पाएका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले निर्वाचन आयोगसँगको समन्वयमा ती मतपत्र बदर गर्ने निर्णय गरेको जानकारी दिए । साथै मतपत्रमा हस्ताक्षर नगर्ने निर्वाचन अधिकृतलाई कानुन बमोजिम कारबाही हुने पनि उनले बताए ।

मत गनिरहेको बेला माओवादी केन्द्रको चुनाव चिह्नमा छाप लगाइएका ४९ वटा र नेकपा एमालेको चुनाव चिह्नमा छाप लगाइएका ३३ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएको पाइएको थियो । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका चुनाव चिह्नमा छाप लगाइएका केही मतपत्रमा पनि हस्ताक्षर नभएको पाइएको थियो । त्यसपछि यस्तो हुनु संयोग हो कि नियत हो भन्नेबारे उम्मेदवारका प्रतिनिधिहरुले आवाज उठाएपछि करिब आधा घण्टा मतगणना रोकिएको थियो ।

माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माका प्रतिनिधि विश्वराज आचार्यले ती मतपत्र मतपेटिकामा खसेका कूल मतपत्रको संख्याभन्दा बाहिरको भए स्वतः बदर हुनुपर्ने तर त्यही संख्याभित्रकै भए सदर गर्नुपर्ने आफूहरुको माग रहेको बताए । ‘यसमा कुनै नियत छैन भने जनताले पवित्र चाहनाले दिएको मतलाई सदर गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ आचार्यले भने, ‘यदि यो नियत हो भने कानुन बमोजिम हुनुपर्छ ।’