काठमाडौँ ६ को निर्वाचन रोचक बन्दै

57

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।

काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन् । नेकपा (एमाले)बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसकेका छन् । विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गरेका हुन् । उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रेका हुन् । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा छन् भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन् ।

कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उनको प्रमुख योजना रहेको छ ।