चितवन । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरे ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताए । उनले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए । प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिए ।
उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताए । सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उनले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पु¥याउनुपर्ने बताए । पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।
अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उनले जानकारी दिए । अस्पतालको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५० लाख निकासा गरिने पोखरेलको भनाइ छ । उनले भने, “भरतपुर अस्पतालको विकासका लागि आवश्यक काम गर्न हामी तयार छौँ ।”