Saturday, October 31, 2026
Home खेलकुद टी-२० विश्वकप: पाकिस्तानको जित

टी-२० विश्वकप: पाकिस्तानको जित

95

अस्ट्रेलियामा जारी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित हात पारेको छ। तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा पाकिस्तानले नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गर्‍यो। जितसँगै पाकिस्तानले सेमिफाइनलको गणतीय सम्भावना कायमै राख्यो।

पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रन बनाएको थियो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ३७ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४९ रन बनाउँदा फखर जमानले २० तथा सन मसुदले १२ रन बनाए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाए। त्यस्तै कप्तान स्कर्ट एडवार्डले २० बलमा १ चौकासहित १५ रन बनाउँदा अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

तीव्र गतिका बलर हरिस रौफको बलमा आँखामुनिको भागमा चोट लागेपछि बास डि लिड ६ रनमा रिटायर्ड हर्ट भएका थिए। उनको स्थानमा नेदरल्यान्ड्सले लोगन भान बिकलाई खेलाएको थियो। बिकले ६ रन बनाए। ओपनर स्टेफन माइबर्ग ६, म्याक्स ओडाउड ८, टम कपुर १, रोलेफ भान मर्वे र टिम प्रिंन्गलले ५-५ रन बनाए।

पाकिस्तानका स्पिनर शादब खानले ३ विकेट लिँदा मोहम्मद वासिम जुनियरले २ विकेट हात पारे। त्यस्तै शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहले समान एक-एक विकेट हात पारे।