ललितपुरमा फूलको प्रतियोगिता सुरु

163

काठमाडौँ । १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ नाराका साथ फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा पुष्पमेला सुरु भएको हो।

प्रदर्शनीमा व्यावसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए। मेलामा ८० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा रहेको उनले बताए। प्रदर्शनीमा सहभागी नर्सरी र फर्मले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइनेछ।

सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा बिरुवासमेत प्रदर्शनीमा राखिएको छ। अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्री पनि बढ्दै गएको एसोसिएसनका अध्यक्ष तामाङले बताए।

कोरोनाअघि पौने तीन अर्बको वार्षिक कारोवारको आँकडा रहे पनि कोरोनाका बेला १ अर्व ६३ करोडमा व्यापार झरेको तामाङको भनाइ छ। त्यसपछि भने अघिल्लो आर्थिक वर्षमा २ अर्ब बढीको कारोबार भएको र अहिले कारोबार बढ्दै गएको उनले बताए। गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यसाथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ। पुष्प मेला आइतवारसम्म चल्नेछ।