राजविराज । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावली पर्वको अवसर पारेर बजारमा माटोको दियोसहित भाँडावर्तन किन्नेको दैनिक भीण्ड लाग्न थालेको छ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोको भाँडावर्तनदेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहल बढेको हो।
कुमाल जातीले बनाउने माटाको मूर्तिलगायत अन्य सरसामान अति नै शुद्ध हुने भएकोले यसको बिक्रीवितरण वृद्धी भएको जनाइएको छ । परम्परादेखि पूजापाठमा मिट्टी अर्थात् माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोको भाँडो लक्षमीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए ।
चाडपर्व नजकिँदै गर्दा ठाउँ-ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैलोलगायत सामग्री खरिदबिक्री भइरहेको व्यापारीहरू बताउँछन् । साथै नयाँ भाँडा चोखो हुने हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन्लगायत ग्रामीण भेगका बजारमा पनि सुनदेखि नूनसम्मका सामानको किनमेल भइरहेको छ ।
यही कात्तिक ७ गते सोमबार हुने दीपावलीका लागि सजावटका समानसहित दीप, मैनवत्ती अगरबत्ती, लड्डु र प्रसादका समानसमेत खरिद–बिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाई व्यवसायी जुगेश्वर साहले बताए । शनिबारदेखि यमपञ्चकअन्तर्गत लक्ष्मीपूजा गाईपूजा, भरदुतीयाका साथै छठपर्वमा यस्ता सामानको प्रयोग बढी हुन्छ ।