डेङ्गुको जोखिम कायमै

33

कैलाली । कैलालीमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम कायमै छ । स्वास्थ्य कार्यालय कैलालीका अनुसार असोज मसान्तसम्म जिल्लाका १३ स्थानीय पालिकामा अहिलेसम्म चार सय २३ डेङ्गुका बिरामी छन् । 

जसमध्ये धनगढी उपमहानगरपालिकामा एक सय ४१ डेङ्गुका बिरामी छन् । सबै भन्दा कम मोहन्याल गाउँपालिकामा तीन जना छन् । घोडाघोडी नगरपालिका र जानकी  गाउँपालिकामा चार/चार जना छन् ।

लम्कीचुहा नगरपालिकामा एक सय १३, बर्दगोरिया गाउँपालिकामा ७२, टीकापुर नगरपालिकामा ४० र गोदावरी नगरपालिकामा २८ जना रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन मीनबहादुर धामीले जानकारी दिए । गौरीगङ्गा नगरपालिकामा सात, भजनी नगरपालिकामा पाँच, जोशीपुर गाउँपालिकामा छ डेङ्गुका बिरामी छन् । कैलारी गाउँपालिका र चुरे गाउँपालिकामा अहिलेसम्म डेङ्गुका बिरामी शून्य रहेको जनाइएको छ ।

जिल्लामा डेङ्गुबाट उपचारका क्रममा दुई जनाको मृत्यु भइसकेको छ । धनगढी उपमहानगरपालिका –१२ की ३५ वर्षीया महिला गत भदौ १४ गते धनगढीस्थित निसर्ग अस्पतालमा र टीकापुर नगरपालिका– ६ की १२ वर्षीया बालिकाको नेपालगञ्जमा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेखित छ ।

असोज महिनाको मसान्तमा अविरल पानी परेपछि पानी जम्ने सक्ने भाँडाकुँडा, प्लास्टिकका बोतल, गमला, गाडीका टायरलगायत अन्य पानी जम्मा हुने स्थानमा पानी जम्ने भएकोले यसको जोखिम कायमै रहेको बताइएको छ । कैलालीमा डेङ्गुको प्रकोप कायमै रहेकाले यसको जोखिम नियन्त्रण गर्न सबैको साझा दायित्व रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तेजविक्रम शाहीले बताए । सबैले आ–आफ्नो घर, टोल, समाज, कार्यालय लगायतका स्थानमा त्यहाँ वरिपरिको सरसफाइ गर्नु तथा पानी जम्न नदिनु नै डेङ्गु नियन्त्रणको उपाय रहेको उनले बताए । डेङ्गु रोगका बिरामीमा उच्च ज्वरो आउनु, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ तथा जोर्नी दुख्ने लगायतका लक्षण देखिने गरेको छ ।