काठमाडाैँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताएका छन्। आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली कांग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश चलाउन आफू हरकिसिमबाट योग्य रहेको बताएका हुन्।
नेता सिंहले आफूले पार्टीका तल्लोस्तरका कमिटीदेखि महामन्त्रीसम्म बनेर पार्टी सञ्चालन गरिसकेको उल्लेख गर्दै सरकारको नेतृत्व गर्न आफू कमजोर नभएको जिकिर गरे। उनले देशको उपप्रधानमन्त्री बनिसकेको उल्लेख गर्दै अबको निर्वाचनपछि हरेक किसिमबाट प्रधानमन्त्री बनेर देश सञ्चालन गर्न र देशमा सुव्यवस्था, राजनीतिक स्थिरता गराउन आफू सक्षम रहेको बताए।
नेता सिंहले भने, ‘म सुरुवाती चरणदेखि, पार्टी प्रतिबन्धित हुँदादेखि अधिकार प्राप्त गर्नको लागि जनआन्दोलन, सत्याग्रह सबैमा होमिएको, जेलजीवन बिताइसकेको, ग्रास लेभलदेखि जिल्ला पनि सम्हालीसकेको, नेविसंघदेखि लिएर नेपाली कांग्रेसको काठमाडौँ जिल्ला पटकपटक नेतृत्व सभापति भएर काम गरिसकेको छु। संगठनलाई राम्रोसँग मैले बुझेको छु। केन्द्रीय सदस्य विभिन्न पदमा बसेर काम गरेको छु। दोस्रो संविधानसभामा संविधान जारी गर्दा उपप्रधानमन्त्री थिएँ। त्यसबेला नेपाली कांग्रेसको उपनेता पनि थिएँ। यसपटक नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनपछि संसदीय दलको नेताको लागि मैले प्रतिष्पर्धा गरेको व्यक्ति हुँ। म स्पष्ट छु, नियत साफ छ, लोभ छैन, मोह छैन, म केही गरेर देखाउन सक्छु भन्ने आत्मविश्वास छ। मौका पायो भने म गरेर देखाउँछु। पहिला सांसद बन्नुपर्याे, त्यसपछि नेपाली कांग्रेसको संसदीय बोर्ड इलेक्ट भएकाहरू बीचमा चुनाव हुनुपर्याे। त्यसमा ब्रेक गर्नसक्ने क्राइट एरिया सबै पुगिसकेको छ। हेरौँ सिच्वेसन के हुन्छ।’
उनले अन्य पार्टीका उम्मेदवारहरु खडा भएपनि स्थानीयहरूको कामका लागि आफू योग्य रहेको जिकिर गरे।
नेता सिंहले भने, ‘यो बहुलवादमा आधारित संसदीय शासन प्रणाली हो। हरेक ५ वर्षमा हुने यो निर्वाचन नयाँ विचार कसैले दिन सकेको छैन। हामीले गालीगलौजमा उत्रिने, हुँदै नभएको कुरा भन्ने भन्दा पनि शुद्ध प्रतिष्पर्धामा उत्रिने संस्कृतिको विकास गर्नुपर्छ। मुख्य जज भनेको मतदाता हुन्। सबैले आफ्नो नीति कार्यक्रम ल्याएर भोट ल्याउने हो। काठमाडौँ १ भनेको नेपालको भाग्य रेखा कता लैजाने भन्ने सबैको चासो छ। त्यसैले पनि नयाँ उम्मेदवारहरू पनि काठमाडौँ १ लाई नै मन पराउँछन्। मसँग आम जनताको साइनो जोडिएको छ। मलाई सबैले चिनेको छ, मेरो यसमा प्लस प्वाइन्ट छ। अरू त परीक्षणमा छन्। भएको दल भत्काएर अर्को दलमा लागेर आएका छन्।’