अब बसपार्कमा नि:शुल्क वाईफाइ, शौचालय सुविधा र पिउने पानी

59

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) व्यवस्थित गर्न निर्देशन दिएका छन् । बसपार्कको सरसफाई, खानेपानी, विश्रामस्थल व्यवस्थित गर्न बसपार्क भित्रका अनुमति विना निर्माण भएका संरचना हटाउन नगरप्रमुख पाण्डेयले निर्देशन दिएका हुन् ।

नगरप्रमुखको निर्देशनअनुसार अबदेखि बसपार्क भित्रको शौचालय सुविधा र पिउने पानीको सुविधा नि:शुल्क हुने भएको छ । बसपार्कभित्र भीडभाड बढ्ने गरी राखिएका ठेला र अन्य व्यवसाय हटाउने, विश्रामस्थल निर्माण गर्ने, निशुल्क वाईफाई सुविधा जडान गर्ने काम अघि बढाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। ‘बसपार्क एकदमै अव्यवस्थित र फोहोर भएकोले यसलाई व्यवस्थित गर्दै आवश्यक सुविधाहरु थप गर्नका लागि प्रमुखले निर्देशन दिएका छन् , उनले भने–अब बसपार्कलाई सफा र सुन्दर बनाउने काम अघि बढेको छ ।’

उनका अनुसार बसपार्कभित्र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, विश्रामस्थलमा दुईवटा टेलिभिजन सेट राख्ने, नियमित सरसफाइ गर्ने व्यवस्था मिलाइनेछ । यसअघि बुटवल उपमहानगरपालिकाले दशैंलाई लक्षित गरेर बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी यात्रु तथा यातायात मजदुर, सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण र उपचार गरेको थियो ।