हत्या अभियोग लागेका व्यक्ति चुनावी मैदानमा

32

महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् ।

निर्वाचन आयोगले दिएको समयसीमाभित्र उनीहरूविरुद्ध कुनै उजुरी नपरेको हुनाले उम्मेदवारी खारेजी नभएको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुवोधकुमार महतोले जानकारी दिए । निर्वाचन आयोगले उम्मेदवारविरुद्ध उजुरी गर्न कुनै उम्मेदवार वा उसकाे प्रतिनिधिलाई मात्र निर्धारण गरेको छ । गैरउम्मेदवार वा प्रतिनिधिले उजुरी हाले उक्त उजुरी नलिने निर्वाचनन आयोगले नियम बनाएको छ ।

‘तर प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका पाटी वा स्वतन्त्र उम्मेदवारले मतदातासमक्ष गलत सन्देश नजाओस् भन्ने उद्देश्यले उजुरी नहालेको हुनसक्छ,’ स्थानीय अकंज थापाले भने । जसपाबाट मनोनयन दर्ता गर्नुभन्दा एक दिन अगाडि मात्र एमाले प्रवेश गरेका लक्ष्मी महतोसहित तीनैजनालाई मधेस आन्दोलनको समयमा असई थमन बिकको हत्या गरेको आरोप छ ।

असई विकको हत्यामा संलग्न रहेको आरोपमा विशेष गरी लक्ष्मी महतोलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दियो तर शक्तिको आडमा उनी अझै अदालतको सम्पर्कमा छैनन्। उच्च अदालत जनकपुरका न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतकाे संयुक्त इजलासले महतोलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न १९ मंसिर २०७७ मा आदेश दिएकाे थियाे ।

जिल्ला अदालत महोत्तरीका न्यायधीश श्यामसुन्दर अधिकारीको इजलासले लक्ष्मी महतोबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७२ बमोजिम एक लाख रुपैयाँ नगद धरौटी लिई २०७६ असोज २ गते तारेखमा राख्ने आदेशलाई उच्च अदालतले पल्टाएर पुर्पक्ष गर्न आदेश दिएको हो । तत्कालीन सद्भावना पार्टीका केन्द्रीय सदस्यसमेत रहेका महतो यसअघिको निर्वाचनमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा संघीय समाजवादी फोरमबाट उठेका थिए । उनी माओवादी केन्द्रका गिरिराजमणि पोखरेलसँग पराजित भएका थिए ।