काठमाडाैँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरूको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताएका छन्। शुक्रवार एसाेसिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास सम्मेलनमा उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूलाई भोट हालेर युवाहरूको समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन्।
उनले अब योजना र भिजन भएका युवाहरू राजनीतिमा आउनुपर्ने बताए। चौधरीले मुलुकको दिगो विकास अगाडि बढाउनको लागि पैसा, शक्ति केन्द्र प्रयोग गर्न कमी नहुँदासमेत युवाहरूको समस्या परिपूर्तिका लागि आफू राजनीतिमा लागेको बताए।
चौधरीले सबै चार्टर्ड एकाउण्टेन्ट्सहरूलाई भेटेर भोट माग्ने आकांक्षा रहे पनि सम्भव नहुँदा चुनावमा आफूलाई जिताउन फोरमबाट नै सहयोगको अपेक्षा गरे। चौधरीले आफूले चार्टड अकाउण्टेन्ट हुने धोका पूरा गर्न नसकेको भन्दै अहिले चार्टर्ड एकाउण्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्ने बताए।
आफू जनताको प्रतिनिधि भएको र विकासका लागि राजनीति गर्न आएको उनकाे भनाइ छ। चाैधरीले आफूलाई धन सम्पत्तिको कुनै खाँचो नरहेको तर चौधरी जनताको प्रतिनिधि भएकाले विकासका लागि राजनीति गर्न आएको दाेहाेर्याए। उनले नेपालमा बहुमतको सरकार आएपनि विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासोसमेत गरे।














