क्षेत्रीय सभापति राई पार्टीबाट निष्कासित

55

उदयपुर । उदयपुरमा गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवारी दिने तथा प्रस्ताव समर्थकसहितलाई नेपाली कांग्रेस उदयपुरले पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । कांग्रेस क्षेत्रीय सभापति रामकुमार राईसहित पाँचजना नेता तथा कार्यकर्ता कारबाहीमा परेका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई पाँच वर्ष निष्कासन गरेको जानकारी दिँदै तततत् जिल्लाबाट तत्काल कारबाही गरी जानकारी गराउन निर्देशन दिएका थिए ।

सन्न ४ मंसिरमा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । कांग्रेस उदयपुरका कार्यवाहक सभापति भीमचन्द्र राईले जारी गरेको विज्ञप्तिअनुसार गठबन्धनविरुद्ध बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार कांग्रेसको सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिएको जनाएका छन् ।