लगानी गर्नसक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री देउवा

65

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूले सहज रूपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० दिवसको अवसरमा सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले गैरआवासीय नेपालीको लगानीलाई मुलुकको विकास र नवनिर्माणमा उपयोग गर्न सरकारले विभिन्न नीतिगत तथा कानुनी सुधार गरी सहजीकरण गर्दै आइरहेको जानकारी गराउनुभयो ।

विश्वभर छरिएर रहेका नेपालीको हक, हित र अधिकारको संरक्षण र सम्बद्र्धनका लागि स्थापित सङ्घ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । सङ्घले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीहरूको पूँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपालको विकास र समृद्धिको अभियानमा एनआरएनएको सहयोग र सद्भाव निरन्तर जारी रहने कुरामा विश्वास व्यक्त गर्दछु । गैर आवासीय नेपाली सङ्घले विदेशमा नेपाली भाषा, संस्कृति, परम्परा, कलाकृति र साहित्यको प्रचारप्रसार गरी नेपालको मौलिक संस्कृति र सभ्यतालाई विश्वभर फैलाउन सहयोगात्मक भूमिका निभाउँदै आएको छ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिँदै विदेशी भूमिमा नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न सङ्घले आफ्ना क्रियाकलापलाई सशक्त रूपमा अघि बढाउनेछ भन्ने विश्वास लिएको छु ।”