तीन प्रमुख दलबाट जम्मा १६ महिला उम्मेदवार

61

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ महिला उमेदवारको संख्या अत्यन्तै न्यून छ।

अर्थपूर्ण महिला सहभागिताको लागि नेतृहरुले आवाज उठाउदै आएपनि प्रत्यक्ष लड्ने आँट भने थोरैले मात्रै गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनका १६५ वटा निर्वाचन क्षेत्र मध्ये प्रमुख तीन वटा राजनीतिक दलले १६ वटा क्षेत्रमा मात्रै महिलाले उमेदवारी दर्ता गराउँदै छन्।

नेकपा माओवादी केन्द्रले ६ जना महिलालाई टिकट दिएको छ। कांग्रेस र एमालेले ५–५ जनालाई उम्मेदवार बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ महिलालाई अघि सारेको छ।

माओवादीले पम्फा भुसाल, कल्पना धमला, रेखा शर्मा, ओनसरी घर्ती, गोमा गौतम, विना मगर र मानुषी यमी भट्टराईलाई टिकट दिएको छ।

कांग्रेसले सुजाता कोइरालालाई मोरङ २ र सिराहाबाट चित्रलेखा यादवलाई उठाएको छ।

पुष्पा भुसाललाई अर्घाखाँचीबाट, डीना उपाध्यायलाई मकवापुर र सीता गुरूङलाई तेह्रथुममा लड्ने गरी टिकट दिएको छ।

एमालेबाट सुनसरी ३ मा भगवती चौधरी, दाङ १ मा शान्ता चौधरी र दाङ ३ मा कोमल वलीलाई प्रत्यक्षमा उठाएको छ। यस्तै गौरी वलीलाई डोटी र निरूदेवी पाललाई कञ्चनपुर ३ को टिकट दिएको छ।

यस्तै राप्रपाले कुन्ती शाहीलाई दैलेख–१ र रेखा थापालाई मोरङ–३को टिकट दिएको छ। संघीय चुनावमा दुई ठाउँबाट चुनाव लड्ने तयारी गरेको एउटा सिट महिलालाई दिएको छ। पार्टी उपाध्यक्ष दुर्गा पौडेललाई प्युठानबाट लड्न टिकट दिएको छ।