काठमाडौँ । लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध राजमार्ग खुलाउन जेसिबी पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन ठप्प हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
यस्तै सोही राजमार्गको दोगडाकेदार–३ खिरेगाउँमा पनि सडक आंशिक रूपमा बन्द भएको छ । लगातारको वर्षाका कारण बैतडीसहित सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले जनजीवन प्रभावित भएको हो । वर्षाले दैनिक कामकाजका साथै राजमार्ग तथा कच्ची सडकमा सञ्चालन हुने सवारी आवागमन प्रभावित हुँदा दसैँ मनाएर फर्किने यात्रुहरू समस्यामा परेका छन् ।