Sunday, October 11, 2026
Home समाज डेंगु नियन्त्रण गर्न लमजुङका स्थानीय तह ताते

डेंगु नियन्त्रण गर्न लमजुङका स्थानीय तह ताते

79
लमजुङ । डेंगु संक्रमण बढ्न थालेपछि लमजुङमा नियन्त्रण र रोकथामका लागि स्थानीय तहले उच्च प्राथमिकता दिएका छन् । डेंगुबाट संक्रमण हुनेको संख्या बढ्न थालेपछि यहाँका स्थानीय तह यसको नियन्त्रणका लागि जुटेका हुन् ।

सदरमुकामस्थित बेसीसहर नगरपालिकाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरुआत गरेको छ । कोभिड-१९ को संक्रमणपछि अहिले पुनः डेंगु जोखिम बढेकाले यसको नियन्त्रण गर्नुपर्ने स्थानीय सरकारको दायित्व रहेको बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिह अर्याल बताउँछन्। ‘कोभिड सङ्क्रमण विस्तारै अन्त्य हुने क्रममा छ, फेरि डेंगुले दुःख दिन थाल्यो,’ उनले भने, ‘हरेक विपद् समाधानका लागि स्थानीय सरकार प्रतिबद्ध छ ।’

डेंगु नियन्त्रणका लागि लामखुट्टेले फूल पार्ने ठाउँहरू खोजी गरेर नष्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले जानकारी दिए । ‘लामखुट्टेले फूल पार्न सक्ने सम्भावित स्थानहरू जस्तै पानी जमेको ठाउँ, टायरमा जमेको पानीलाई नष्ट गर्ने अभियान सुरुवात गरेका छौ,’ उनले भने, ‘प्रत्येक वडामा पनि जनप्रतिनिधिको नेतृत्वमा यो अभियान सुरु भएको छ ।’

‘सबै जागौ, सबै लागौ वरिपरि जमेको पानी हटाई डेंगु भगाऔ’ नाराका साथ सुरु अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संघसंस्था, शिक्षकलाई परिचालन गरिने जनाइएको छ । लमजुङमा डेंगुबाट संक्रमित हुनेको संख्या ८४ पुगेको छ ।