प्रेस युनियनले पार्टीबाट सिफारिसमा परेका पत्रकारलाई उम्मेदवार बनाउन पहल

66

काठमाडाैँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनले देशभरबाट पार्टीले सिफारिस गरेका युनियनका पत्रकारलाई उम्मेदवार बनाउन पहल गर्ने भएको छ। प्रेस युनियनले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवार सिफारिस भएका प्रेस युनियनमा आबद्ध पत्रकारसँग आज काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरी युनियनकर्मीलाई संसदमा पठाउन पहल गर्ने बताएको हो।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले संसदमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारले प्रतिनिधित्व गरे प्रेस युनियनको साख बढ्ने बताए। ‘युनियनमा आबद्ध पत्रकारलाई संसदमा प्रतिनिधित्व गराउन हामी पार्टीका शीर्ष नेतृत्व र संसदीय बोर्डका सदस्यको ध्यानाकर्षण गराउँछौँ’, उनले भने।
युनियनका पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारले संसदमा प्रतिनिधित्व गर्न सके पत्रकारको आवाज देशव्यापी लैजान सकिने बताए। उनी तनहुँ क्षेत्र नं १ प्रदेश (क) बाट समानुपातिकतर्फ सिफारिस भएका छन्। युनियनका पूर्वअध्यक्ष किरण पोखरेलले सम्भावना बोकेका पत्रकारलाई संसदमा प्रतिनिधित्व गर्न प्रेस युनियनले पार्टीको केन्द्रीय नेतृत्वलाई दबाब दिनुपर्ने बताए। उनी सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन्।युनियनका सल्लाहकार एवम् वरिष्ठ पत्रकार कविर राणा भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेवार सिफारिस भएका छन्।
युनियनका निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक आचार्य चितवन क्षेत्र नं २ प्रदेश (ख) बाट प्रत्यक्षतर्फ, युनियनका निवर्तमान कोषाध्यक्ष सरोज अधिकारी धादिङबाट प्रदेशसभाको समानुपातिक, युनियनका पूर्व उपाध्यक्ष एवम् नेपाल पत्रकार महासङ्घकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारी ओखलढुङ्गाबाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन्।
यस्तै, युनियनका पूर्वसचिव सन्तोष न्यौपाने काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) बाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका छन् भने युनियनका नेता एवम् नेपाल पत्रकार महासङ्घ उपत्यका प्रतिष्ठान शाखाका सचिव रोशन पाण्डे काभ्रेबाट प्रदेशसभा समानुपातिक उम्मेदवारका लागि सिफारिस भएका छन्।