मैले अंगालो मारेँ, उनले ग्वाम्म छुरी रोपे -ओली

70

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले राम्राे गर्दा पनि उनले नराम्राे गरेकाे आराेप लगाएका छन्। उनले आज बिहीबार पार्टी प्रवेश कार्यक्रममा बाेल्दै माओवादी अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा छँदा आफूमाथि घात गरेकाे बताएका हुन्।
‘मैले प्रचण्डलाई आउनुस् मित्र, एकीकृत पार्टी बनाऔँ, बलियो बामपन्थी आन्दोनल बनाऔँ, समाजवादतर्फ अघि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ। मैले अंगालो हालेको थिएँ’, उनले भने, ‘प्रचण्ड हात लुकाइलुकाई हिँड्थे, म अलिकलि सचेत थिएँ। नभन्दै मैले अंगालो मारेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे।’
यसका साथै उनले आफूले वाम एकताकाे परिकल्पना गर्दै नेकपा स्थापना गरेकाे भएपनि प्रचण्डले आफ्नाे स्वार्थका लागि आफूलाई नै पार्टीबाट निष्कासन गर्न लागेकाे बताए।
०७४ मा वाम गठबन्धन बनाएर चुनाव लडेका एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भएर नेकपा स्थापना भएकाे थियाे।
यसैबीच तत्कालीन प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा प्रतिनिधिसभा भङ्ग गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएकाे हाे।