Sunday, September 27, 2026
Home समाज डेङ्गु नियन्त्रणका लागि चार अभियान सञ्चालन

डेङ्गु नियन्त्रणका लागि चार अभियान सञ्चालन

78

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकैपटक चार अभियान सञ्चालन गरेको छ। नगरपालिकाभित्र दिनानुदिन डेङ्गु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिए। उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुका बिरामी बढी पाइएको छ।
यस्तै, तारकेश्वरले डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ। सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ। यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गु परीक्षण गर्न सबै वडाका स्वास्थ्यचौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताए।
डेङ्गुका बिरामीलाई सबै वडाका स्वास्थ्यचौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ। सीमित स्रोत र साधनका बीच डेङ्गु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ।