बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने

39

गलकोट । बागलुङ बजारवासीले पुसभित्रै शुद्ध खानेपानी पाउने भएका छन् । बर्खाको समयमा बागलुङ बजारमा अशुद्ध मात्रै नभएर धमिलो दूषित पानी वितरण भइरहँदा यहाँका नागरिकहरू खानेपानी वितरणको जिम्मा पाएको बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाप्रति आक्रोशित छन् ।

अहिले बागलुङ बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइँदै आएको छ । तर टाढाबाट पानी ल्याउँदा पहिराका कारण पानीको वितरणसमेत अनियमित हुने र बर्खाको समयमा हप्तौँसम्म बागलुङ बजारमा खानेपानी वितरण नहुँदा हरेक वर्ष खानेपानीको हाहाकार हुँदै आएको छ ।

अहिले वितरण भइरहेको खानेपानीको प्रशोधन गृह छैन । सोही कारण सोझै मुहानको पानी वितरण गर्दा पानीमा कोलिफर्म भेटिरहने परीक्षणका क्रममा पाइएको छ । खानेपानीको समस्या देखिँदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना २०७५ असारदेखि निर्माण थालिएको हो । आयोजनाले बजारमुनि रहेको काठेखोलाको पानी लिफ्टमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेछ ।

बागलुङ नगर खानेपानीको नयाँ लिफ्ट आयोजना सम्पन्न सँगै शुद्धिकरण गरेको पानी वितरणको तयारीमा नगर खानेपानी छ । पुस महिनामा परीक्षणको पानी बागलुङ बजारमा पुर्‍याउने निर्माण व्यवसायीको लक्ष्य रहेको छ ।

अहिले पूर्वाधारको काम सम्पन्न भइसकेको र मोटर जडानका लागि विद्युतीकरण गर्ने काम भइरहेको निर्माण व्यवसायीका तर्फका इन्जिनियर विक्रम अधिकारीले बताए ।

‘थप गरेको म्याद माघ मसान्तसम्म मात्रै छ, अबको काम प्राविधिक र पानीको पाइपलाइन विस्तारको तयारी छ भने विद्युत्का लागि ट्रान्सफर्मर आइसकेको र विद्युत् लाइनसमेत विस्तारको काम भइरहेको छ,’ उनले भने, ‘बाँकी सामग्री मोटर मात्रै हो, मोटर जोड्न कात्तिकसम्म समय लाग्ला, त्यसपछि पानी तान्ने प्रक्रियामा जान्छौँ ।’

मोटर सञ्चालनलाई छ सय ३० केभिएको ट्रान्सफर्मरसमेत आइसकेको छ । काठेखोलाको पानी शुद्धिकरण गरेर लिफ्टमार्फत बागलुङ बजार ल्याउने आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । निर्माण व्यवसायीको भनाइमा आयोजनाको प्रगति ८५ प्रतिशत पूरा भएको छ ।

खानेपानीको समस्या भएपछि बागलुङ बजारका उपभोक्ताले खानेपानी ल्याउनका लागि उपल्लाचौरको अम्बोट, तित्याङ र सुलडाँडा पुग्ने गरेका छन् । अधिकतम प्रयास गर्दासमेत बजारवासीलाई वितरण गरेको पानीमा केही सुधार आए पनि शुद्धिकरण नै गरेको पानी नयाँ आयोजना सम्पन्न नहुँदासम्म खुवाउन समस्या हुने बागलुङ नगर खानेपानी तथा उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्माले जानकारी दिए ।