काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिशोध साँध्ने र झुटो बयान दिएको अधिवक्ता ओमप्रकाश अर्यालले दाबी गरेका छन् ।
आफूविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावका सम्बन्धमा जबराले संसदीय महाअभियोग सिफारिस समितिसमक्ष बयान दिइरहेका छन् । शीर्ष नेता, सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, सञ्चार उद्यमी, पत्रकारलगायतको चरित्रमाथि प्रश्न उठाएर जबराले बयान दिइरहेका छन् ।
आइतबार बयान दिने क्रममा जबराले अधिवक्ता अर्यालको चरित्रमाथि प्रश्न उब्जाउने गरी बयान दिएपछि सोमबार अर्यालले जबराले प्रतिशोध साँध्न र झुटो बोलेको प्रतिक्रिया दिएका हुन् ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले अधिवक्ता अर्यालकी श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन गरेको सिफारिस आफूले इन्कार गरेको भन्दै बयान दिएका जबराले त्यसपछि अर्यालले सम्पत्ति शुद्धीकरणको रिट हालेको समितिसमक्ष बताए ।
‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा पुनदेवी महर्जनलाई दुई चोटी सिफारिस गर्नुभयो । मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी, ओमप्रकाश अर्यालजीको अर्धाङ्गिनी हो । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निरर्थक हो भनेर निर्णय नै गरिसकेको छ,’ जबराले आइतबार आफ्नो बयानमा भनेका थिए ।
सोमबार जबरालाई जवाफ दिँदै अधिवक्ता अर्यालले भनेका छन्, ‘चोलेन्द्र शम्शेरको निष्ठा र न्यायिक आचरणको बारेमा सुरुदेखि नै निरन्तर रूपमा आलोचनात्मक टिप्पणी सार्वजनिक गर्दै आएको हुँ । उनले प्रतिशोध साँध्न झुटो तथ्य खडा गरी नकारात्मक भाष्य निर्माण गर्न खोजेको देखियो ।उनको दाबी मसँग सम्बन्धित सार्वजनिक तथ्यबाटै आधारहीन पुष्टि हुन्छ ।’