अयोध्याबारे फेरियो ओलीको बोली

61

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राम जन्मभूमि अयोध्याको बारेमा आफूले गर्दै आएको दाबीलाई शास्त्र र तथ्यले अन्यथा भन्छ भने स्वीकार्न तयार रहेको बताएका छन् । उनले अयोध्याको विषय आफूले पोलिटिकल स्टन्टका लागि नउठाएको भन्दै इतिहासको यथार्थलाई उजागर गरेको बताए ।

‘राम जन्मेकै अयोध्या (माडी) मा हो, डेढ सय वर्षअघि मात्रै अंग्रेजहरूले त्यहाँका हिन्दु र मुसलमानलाई खुसी पार्नका लागि एकातर्फ फैजावाद र अर्कोतर्फ अयोध्या भने,’ उनले भने, ‘यो सत्यतथ्यलाई मैले खाली उजागर गरेको हुँ । यदि शास्त्र र तथ्यले अर्को भन्छ भने म त्यस विषयमा ओपन नै छु । मेरो कुनै आग्रह होइन, इतिहासलाई यथार्थ ढंगले चलाउनुपर्‍यो । यो प्रश्न पोलिटिकल स्टन्टसँग जोडिएको प्रश्न होइन । इतिहास र सभ्यतासँग जोडिएको प्रश्न हो ।’

ओलीले यसअघि राम नेपालमा जन्मिएको र अयोध्या चितवनको माडी क्षेत्रमा रहेको दाबी गर्दै आएका थिए । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का नेताहरूले ओलीको भनाइप्रति असन्तुष्टि जनाउँदै आएका छन् । राम जन्मभूमिको विषय भारतीय राजनीतिको प्रमुख मुद्दा बन्दै आएको छ । ओली प्रधानमन्त्री हुँदा माडी क्षेत्रका लागि विशेष बजेटसमेत छुट्याएका थिए ।

कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकार भारतले अतिक्रमण गरेको आफ्नो भूभाग फिर्ता ल्याउने विषयमा पनि गम्भीर नभएको आरोप लगाएका थिए । ‘गुमेको भूभाग समेटेर मैले आफ्नो नक्सामा सार्वजनिक गरें, त्यो भूभाग ६० वर्षअघि गुमेको हो । अहिले गुमेको होइन नि । मैले नक्सा बनाएर, संविधान संशोधन गरेर आफ्नो भूभागको रूपमा स्थापित गरें,’ उनले भने, ‘भारतसँग हामीले कुरा गर्नुपर्छ तर अहिलेको सरकार त्यस विषयमा बोल्ने पनि हिम्मत गर्दैन । त्यो भूभाग हाम्रो होइन भने होइन भन्नुपर्‍यो, हो भने वार्ता गर्न सक्नुपर्‍यो । भारत सरकारलाई पत्र लेख्नुपर्‍यो, हामी कुरा गर्छौं भन्नुपर्‍यो । के हो अहिलेको सरकारको दृष्टिकोण ? मौनधारण किन ?’