जाडो छल्न आइपुगे पर्यटक चरा

247

बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि फाट्टफुट्ट नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् ।

“नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्”, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरीले बताए । उनले भने, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।”

कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरीले बताए । उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ ।

प्राध्यापक डा. दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । “कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन्”, विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उनले बताए ।

प्रा डा थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पु¥याएको छ तर केही मात्रामा चै विस्तारै विस्तारै स्वभाविक हुँदै जाँदा पनि रहेछन् । साइबेरीया देखी आउने एक प्रकारका चरा, कर्मोरेन्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाका जात र पानि हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा डा थापाले बताए ।