सापकोटा र फ्रान्सेली प्रतिनिधि टोलीबीच भेटवार्ता

39

काठमाडौँ- नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि टोलीलेसभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ ।

फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष डानियल सालमोन नेतृत्वमा रहेको प्रतिनिधि टोलीले बिहीबार बिहान सिंहदरबारस्थित कार्यकक्षमा सभामुख सापकोटासँग भेट वार्ता गरेको हो ।

भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच सन् १९४९ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्ध सुमधुर, मैत्रीपूर्ण, समता र आपसी समझदारीमा आधारित रहेको बताउँदै उच्चस्तरीय भ्रमणले सम्बन्धलाई गुणात्मकता दिने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले फ्रान्सले नेपालको लोकतान्त्रिक प्रक्रियामा गरेको सहयोगको प्रशंसा गर्दै फ्रान्सेली क्रान्तिका आधारभूत मूल्यको स्मरण गरे ।

उनले जलवायु परिवर्तनको असर र प्रभाव विश्वका धेरै देशमा प्रत्यक्ष रूपमा परिरहेको चर्चा गर्दै यसको मिलेर सामना गर्नु पर्नेमा जोड दिए ।

भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समुहका अध्यक्ष सालमोनले नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गरे । उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले शक्ति लगाउनु पर्नेमा जोड दिए ।