काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने भन्दै यसलाई निरन्तर अघि बढाउने जनाएको छ ।
अहिले कामपाले कानून विपरीत निर्माण भएको सम्पूर्ण संरचना अवैध रहेकाले नक्सा पास नगरी निर्माण भएका र नक्सा पासअनुरुप निर्माण नगरिएका दुवै संरचना भत्काउने काम निरन्तर गर्ने जनाएको हो ।
कानूनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भने।
नक्सा विपरीतका संरचना, नक्सा पास नगरी निर्माण भएका संरचना र सार्वजनिक जग्गा मिचेर बनाएका सबै संरचना भत्काउने काम कामपाको कर्तव्यभित्र पर्छ उनले भने । यो कामलाई अभियानका रुपमा सञ्चालन गरिने र महानगरको ३२ सै वडामा निर्माण भएका यस्ता कुनै पनि संरचना बाँकी राखिने छैन, महानगर प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भने।
संरचना निर्माणका सम्बन्धमा पहिला कागजपत्र देखाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरिने र गलत प्रमाणित भए थप कानूनी प्रक्रिया अघि बढाउन कामपाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको र उक्त सूचनाको बेवास्ता गरिएकाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउने काम सुरु गरिएको हो ।













