काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका छन् । मंगलबारदेखि काठमाडौँमा ओआरएफको सहयोगमा आएसएसआरको आयोजनामा सुरु भएको ‘क्लाइमेट एक्सन च्याम्पियन्स नेटवर्क’ (सीएसीएन) परियोजना अन्तर्गतको दुई दिने सम्मेलनको उद्घाटन गर्दै वनमन्त्री यादवले जलवायु परिवर्तनको विश्वव्यापी संकटविरुद्ध नेपालले पनि चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्ने बताएका हुन् ।
जलवायु परिवर्तनको गम्भीर असर दक्षिण एसियामा परेको भन्दै नेपाल झन् ठूलो मारमा परेकाले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्नुपर्ने उनले बताए ।
‘विकसित देशहरुले कार्बन उत्सर्जन रोक्न नसक्दा नेपाल जस्ता दक्षिण एसियाका धेरै देशलाई गम्भीर असर गरेको छ’ वन तथा वातावरणमन्त्री यादवले सम्मेलनको उद्घाटन सत्रमा भने, ‘जलवायु परिवर्तनको असर न्युनिकरण गर्न अब नेपाल सरकारले चाँडै जलवायु परिवर्तन संकट घोषणा गर्छ ।’
साथै उनले जलवायु परिवर्तनविरुद्ध सबै जना एक ठाउँमा उभिनुपर्ने बताए । दक्षिण एसियाका नेपाल, भारत, भुटान, श्रीलंका र बंगलादेश एकै ठाउँमा उभिएर जलवायु परिवर्तनविरुद्धको अभियानमा लागेको भन्दै मन्त्री यादवले काठमाडौँमा जारी सम्मेलनले नयाँ र परिणाम ल्याउने गरि नयाँ कार्यक्रम तय गर्ने पनि बताए ।