पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय र स्थानीय प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए

67

काठमाडौं : वागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले संघीय सरकारका कारण स्थानीय र प्रदेश सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन्। प्रदेश राजधानी हेटौँडामा सोमबार भएको संघीयता सवलिकरण सम्बन्धी छलफलमा बोल्दै उनले संघीय सरकारको मानसिकतामा परिवर्तन नभएसम्म प्रदेश र स्थानीय सरकारका कामकारवाही प्रभावकारी बन्न नसक्ने बताएका हुन्।

‘समस्या माथि छ। सिंहदरबार अधिकार दिन चाहँदैन। सिंहदरबारकै कारणले आज संघीयतामाथि प्रश्न उठ्ने गरेको छ। हामीमाथि सिंहदरबारमा बस्ने कार्यालय सहयोेगी ठूलो हुन्छ। तर प्रदेश स्थानीय तहका सचिव केही पनि होइनन् भन्ने मानसिकताले काम गरेको छ’ उनले भने, ‘सिंहदरबार अनि प्रदेशले काम गर्न सकेन भनेर आलोचना भइरहेको छ। संविधानमा भएको एकल अधिकार स्थानीय र प्रदेश सरकारले पाइरहेको छैन। सरकारले कानून बनाउँदैन। कानून नबनाईकन काम गर्न पाउँदैनौँ।’संघीय सरकारका कारण प्रदेश सरकारले आफ्नो कामको प्रदर्शनलाई देखाउन नसकेको गुनासो गरे। संघीय सरकार नै प्रदेश र स्थानीय सरकारलाई सवल बनाउन नचाहिरहेको दाबी गरे।

‘प्रदेश सरकार र स्थानीय सरकारले कानून बनायो भनेपनि संघीय सरकारले कानून नबनाईकन लागू पनि हुँदैन र संघीय सरकारले बनाएको कानूनसँग बाझियो भने स्वतः खारेज हुन्छ। यो अवस्थामा हामी छौँ। यो किन भइरहैको छ त भन्दा संघीय सरकार मुलतः स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउन चाहिरहेको छैन’ उनको भनाइ छ। उनले संघीय सरकारले प्रदेश र स्थानीय सरकारको हात बाँधेर राखेको दाबी गरे। संघीयता आउने बित्तिकै दिल्लिका केजरीवालले जस्तो काम गर्नुपर्ने मानसिकता राखिएको उल्लेख गर्दै उनले दिल्लीको जस्तो अधिकार नेपालको प्रदेश सरकारलाई संघ सरकारले दिएको छ कि छैन भन्ने मूल्यांकन गर्ने काम नभएको गुनासो गरे।