काठमाडौँ । काठमाडौं महानगरपालिकाले मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियान सुरु गरेको छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर २५ कार्यालयले सूचना जारी गर्दै २४ घन्टाभित्र इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन अल्टिमेटम दिएको हो।
२५ वडाका अध्यक्ष राजेश शाक्यले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन अल्टिमेटम दिएका हुन्। उक्त क्षेत्रमा रहेका सन्तानेश्वर महादेव मन्दिर, भवानी शंकर मन्दिर क्षेत्र, असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ-बायाँ रहेका पसलहरु हटाउन अल्टिमेटम दिइएको हो। २४ घन्टाभित्र नहटाए महानगर प्रहरी लगाएर हटाउने पनि वडाअध्यक्ष शाक्यले बताए।