काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्। ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारूढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचनपछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको बताएका हुन्।
उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँटको विषयमा टुंगो लाग्ने विश्वास व्यक्त गरे। गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिनेबित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने बताए।
‘हामी अहिले उम्मेदवार तयार पारेर केही दिनपछि निर्वाचनको तयारीमा जुट्दैछौँ। अहिले त अब गठबन्धन भन्ने भएकाले गर्दा को, कहाँबाट लड्नेरु त्यसको तालमेल मिलाउँदैछौँ’ उनले भने, ‘अहिले सम्पूर्ण ध्यान त्यसमा छ। केही दिनपछि हाम्रो ध्यान उम्मेदवारी चयनमा हुन्छ। त्यसपछि चुनावी अभियान सुरु हुन्छ। यो पटक निर्वाचन पनि जित्छौं हामी। हाम्रै नेतृत्वमा सरकार पनि बन्छ। त्यसमा पनि कुनै अलमल भएन।’ आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहलाई सशक्त बनाउनका लागि पार्टीले केही दिनभित्रै ‘स्थानीय सरकार सबलीकरण तथा अनुगमन इकाइ’ गठन गर्ने बताए।
स्थानीय सरकारलाई जनताको पक्षमा काम गराउन पनि पार्टीभित्र सो इकाइको आवश्यकता रहेको पनि स्पष्ट पारे।