नेपालमा ‘टोमाटो फ्लू’को जोखिम बढ्दै

44
Concept of monkeypox epidemic, white man Skin erythema, pustules, and boils, itching after being infected with the monkeypox virus.

काठमाडौँ – पछिल्लो समय भारतमा फैलिइरहेको ‘टोमाटो फ्लू’ को जोखिम नेपालमा पनि बढ्न सक्ने विज्ञहरूले बताउँदै आएका छन् । उच्च संक्रामक मानिएको ‘टोमाटो फ्लू’ खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकासँगको प्रत्यक्ष सम्पर्कका कारण सर्ने गर्छ । संक्रमणका कारण बालबालिकाको शरीरमा टमाटरजस्तै टल्किने रातो फोको देखिने भएकाले यसलाई ‘टोमाटो फ्लू’ नाम दिइएको हो ।

भारतमा अहिलेसम्म एक सयभन्दा धेरै जना बालबालिकामा यसको संक्रमण पुष्टि भइसकेको छ । संक्रमणका कारण बालबालिकाको ज्यान जाने खतरा नरहेको भए पनि यसको विशिष्ट औषधि भने छैन  । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार टोमाटो फ्लू पहिलो पटक केरला राज्यको कोल्लम जिल्लामा गत वैशाख २४ मा देखिएको हो । संक्रमण फैलँदै गएपछि भारत सरकारले गत मंगलबार एक निर्देशिका जारी गर्दै सावधानी अपनाउन आग्रह गरिसकेको छ ।

भारतमा फ्लूको संक्रमण बढ्दै गएपछि नेपालमा पनि जोखिम बढेको भन्दै मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा जानकारी दिई उपचार गराउन विज्ञहरूले सुझाव दिएका छन् । संक्रमणका कारण नेपालमा पर्न सक्ने प्रभावबारे अध्ययन भइरहेको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका निर्देशक डा. चुमनलाल दासले बताए । नेपालसँग भारतीय राज्य बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, उत्तराखण्ड, असम, सिक्किमल लगायतका सीमा क्षेत्रमा संक्रमणबारे सतर्क गराइने डा. दासले जनाएका छन् ।

फोहोर मैलामा धेरै यो रोग संक्रमण हुने भएकाले बालबालिकाको सरसफाइमा ध्यान दिन डा. मरासिनीको सुझाव छ । बालबालिकामा देखिने रोग भनेर चिनिए पनि ३२ वर्षसम्म उमेर समूहसम्म पनि यो फ्लू देखिन सक्ने उनले बताए ।‘हामीले तीस बत्तीस वर्षमा पनि यस्तो लक्षण मिल्ने संक्रमणको उपचार गरेका छौँ, त्यसैले त्रास फैलाउने होइन, सचेत भएर हेरचाह गर्नुपर्छ,’ उनले भने । बालबालिकालाई यस्तो संक्रमण भयो भने घरमा नै राखेर सिटामोल दिन उनको सल्लाह छ ।