युनाइटेडले एन्टोनीलाई भित्र्याउने

31

लन्डन । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्न लागेको छ । एन्टोनीलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको जनाइएको हो ।

यसअघि लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरे पनि दुई क्लबबीच सहमति हुन सकेको थिएन ।अहिले एन्टोनी आफैंले युनाइटेड जाने इच्छा जाहेर गरेपछि प्रक्रिया अगाडि बढेको हो । दुई क्लबबीच ट्रान्सफर रकममा सहमति भएपछि एन्टोनी युनाइटेड जाने भएका हुन् । युनाइटेडले सुरुवातमा ८०.७५ मिलियन र त्यसपछि प्रदर्शनका आधारमा ४.२५ मिलियन पाउन्ड तिर्नेछ ।

२२ वर्षीय ब्राजिलियन विंगर युनाइटेडले अनुबन्ध गरेको दोस्रो महँगो खेलाडी बनेका छन् । आयाक्सका लागि ८२ खेलमा २५ गोल र २२ असिस्ट प्रदान गरेका एन्टोनी राइट विंगमा खेल्छन् । सन् २०२१ अक्टोबरमा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका एन्टोनीले ९ खेलमा दुई गोल गरेका छन् । युनाइटेडले यसअघि डिफेन्डर ह्यारी मगाएर अनुबन्ध गर्न पनि ८० मिलियन खर्चेको थियो । मिडफिल्डर पल पोग्बा ८९ मिलियन पाउन्डसहित महँगा खेलाडी रहेका छन् । युनाइटेडमा जेडन सान्चो पनि सोही पोजिसनमा खेल्दै आएका छन् ।

त्यसैगरी, इंग्लिस प्रिमियर लिग क्लब नटिंघम फरेस्टले पनि ब्राजिलियन डिफेन्डर रेनान लोडीलाई अनुबन्ध गरेको छ । इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले स्पेनिस क्लब एट्लेटिको मेड्रिडबाट लोडीलाई अनुबन्ध गर्ने भएको हो । फुल ब्याक लोडीलाई फरेस्टले एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।

स्पेनिस क्लबले लोडीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको विकल्प समेत दिएको छ । यस सिजन लोडीलाई १७ औं खेलाडीको रुपमा फरेस्टले अनुबन्ध गरेको हो । २४ वर्षीय डिफेन्डर २०१९ मा एट्लेटिको आएका थिए । उनले एट्लेटिकोका लागि १ सयभन्दा बढी म्याच खेलिसकेका छन् । च्याम्पियन्स लिगमा गत सिजन उनले म्यानचेस्टर युनाईटेडविरुद्ध गोल गरेका थिए ।

त्यस्तै, स्पेनिस क्लब भ्यालेन्सियाले पनि उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीलाई अनुबन्ध गर्ने पक्का भएको छ । म्यानचेस्टर युनाईटेडका स्ट्राइकर काभानीलाई भ्यालेन्सियाले फ्री ट्रान्सफरमा अनुबन्ध गर्ने पक्का भएको हो । काभानीले भ्यालेन्सियासँग दुई वर्षको सम्झौता गर्न मौखिक सहमति जनाएको बताईएको छ । सम्झौताका लागि काभानी सोमबार भ्यालेन्सिया जाने बताईएको छ । युनाईटेडसँग काभानीको सम्झौता २०२२ को जुनसम्म रहेको थियो । उरुग्वेका ३५ वर्षीय स्ट्राइकर २०२० मा फ्रेन्च क्लब पीएसजीबाट युनाईटेड आएका थिए । -एजेन्सी