मानव बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित

55

सिन्धुली : कमलामाई नगरपालिका ९ र १० मा राति हात्ती मानव बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्। तीन हात्ती बस्तीमा प्रवेश गर्दा स्थानीय रातभर नै जाग्राम बसेका हुन्।कमलामाई नगर उपप्रमुख मञ्जु देवकोटाले राति जङ्गली हात्ती देखिएपछि स्थानीयवासीलाई सुरक्षित भएर बस्न र संयमित हुन आग्रह गरेको बताइन्।

हात्ती राति १० बजे कमलामाई– ९ काउछे, अमाहा हुँदै कमलामाई –१० तर्फ लागेको जनाइएको छ। यो क्षेत्रमा हरेक वर्षको हिउँदमा जंगली हात्ती देखा पर्ने गरेका छन्। तर यो वर्ष चाँडै नै हात्ती गाउँमा प्रवेश गरेको उनको भनाइ छ। यसअघि पनि हात्ती मानव बस्तीमा प्रवेश गरी घर भत्काउने, अन्नपात खाने, नष्ट गर्ने गरेका थिए। हात्ती निस्किएको खबर पाएसँगै प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। क्षतिको अवस्थाबारे अनुसन्धानपछि मात्र भन्न सकिने कार्यालयले बताएको छ।दिउँसोमा जंगली हात्ती नदेखिने र रातको समयमा हात्ती देखिँदा स्थानीयमा त्रास वर्षौँदेखि रहेको छ। हात्तीका कारण मानव बस्ती असुरक्षित भएको जनाउँदै समस्या समाधान गर्न स्थानीयले वर्षौँदेखि माग गर्दै आएका छन्।