काठमाडौं: नेपाल बार एसोसिएसनले सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा देवनागरी लिपि अनिवार्य गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ती निकालेर बारले नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्बर्द्धन गर्ने गराउने कार्यका लागि सवारी तथा यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा(देवनागरी लिपि)मा हुनुपर्ने व्यवस्था गर्न माग गरेको हो। महासचिव अधिवक्ता अन्जिता खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको प्रतिकुल हुने गरी अन्य भाषा नेपालको सरकारी कामकाजको भाषाको रुपमा सरकारी कार्यालय/निकायले प्रयोग गर्न सक्ने देखिन्न। तसर्थ सवारी तथा यातायात व्यवस्था विभागबाट सवारी साधनको नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिनु संवैधानिक व्यवस्थाको भावना र मर्म प्रतिकुल छ । जुनसुकै तर्क वा आधार र कारणमा पनि संविधानले आत्मसाथ गरेको भाषालाई प्रतिस्थापन गर्नेगरी प्रत्यक्ष वा परोक्ष रुपमा कुनैपनि कार्य गर्न मिल्दैन।’