बेलहियाका सडकमा रहेका संरचना हटाइने

81

भैरहवा । मुलुकमा पैदलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका क्षेत्रको सौन्दर्यकरणका लागि कार्य अघि बढाइएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहिया बजार क्षेत्रको सौन्दर्यकरणका लागि नगरपालिकाद्वारा सडक अतिक्रमण गरी राखिएका ट्यांकी, ठेला गाडा, टहरा लगायत सातदिन भित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।

सूचनामा भनिएको छ, ‘बेलहिया बजारलाई सफा बनाउन सडक अधिकार भित्र हाल रहेका सम्पूर्ण ट्यांकी, टहरा, ठेला गाडा लगायतलाई सूचना प्रकाशित भएको सात दिनभित्र हटाउन हुन र अन्यथा नियमानुसार हुने व्यहोरा अनुरोध छ ।’ बेलहिया लगायत नगर क्षेत्रको सौन्दर्यकरणका लागि विभिन्न याेजनाहरूको निर्माण र संचालन भइरहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खानले बताए ।

‘बेलहियाबाट लाखौँ पर्यटक भित्रिन्छन् । तर, स्थान पर्यटकमैत्री छैन . जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ नगर प्रमुख खानले भने, ‘नगरलाई स्वच्छ, सफा र हरियाली बनाउने कार्य अन्तर्गतप्रकिया अघि बढाइएको हो ।’