काठमाडाैँ । पोखरा पुगेका देशभरका महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले नेपालको राष्ट्रिय फूल लालीगुराँस रोपेका छन्।
सराङकोटस्थित शिवमन्दिर भ्यू टावर परिसरमा ११ प्रजातिका लालीगुराँसका बिरुवा सारिएको हो। पोखराले अग्ला डाँडाहरूमा लालीगुराँस रोपेर पर्यटक लोभ्याउने नीतिअनुसार काम गरिरहेको छ। बिरुवाहरू लालीगुराँस संरक्षण तथा विकास अभियन्ता ढाकाराम लामिछानेले तेह्रथुमबाट ल्याएका थिए।
नेपालमा पाइने ३२ प्रजातिका बिरुवा पोखरामा रोप्न लागिएको छ। यसअघि पनि पोखरामा लालीगुराँस रोपिएका थिए। पोखराले हरियाली प्रवर्द्धनमा गरेका कामको सबैले प्रशंसा गरेका छन्। पोखराको आयोजनामा सराङकोटमा पहिलो पटक महानगर मेयर सम्मेलन भएको हो। सम्मेलनमा आएका उनीहरूले हरियाली प्रवर्द्धन र पर्यावरणको विकासमा सहकार्य गर्ने निर्णय गरेका छन्। लालीगुराँसको बिरुवा छेउमा रोप्नेको नामसमेत उल्लेख गरिएको छ।