संसदीय छानबिन समितिको बैठक स्थगित

69

काठमाडाैँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक अपरान्ह चार बजे बस्ने भएकाे छ।

समितिका सचिव सुरेन्द्र अर्यालले अपरान्ह चार बजे बैठक बस्ने जानकारी दिए। उनले भने, ‘फरेन्सिक ल्याबबाट डिभाइससहित प्रतिवेदन फिर्ता भएकाे छ। हामीले खाेलेर हेरेका छाैँ। त्यसमा भएका विवरणहरू प्राविधिक विषय भएकाेले विश्लेषणकै क्रममा छ, अध्ययनकै क्रममा छ। ल्याबसँग सम्बन्धित विज्ञहरूबाट जानकारी लिनुपर्ने भएकाले याे बैठक स्थगित भएकाे हाे।’

प्राविधिक विश्लेषण गर्न अझै समय लाग्ने सचिव अर्यालकाे भनाइ छ। बैठक आज बिहान आठ बजे सुरु भएकाे थियाे। पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन जारी छ। तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थमन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको हाे। पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।