काठमाडौं । छिमेकी मुलुकहरू भारत र चीनदेखि अमेरिकी, युरोपेली तथा अफिक्री मुलुकसम्मका नागरिक कारागारमा छन्।
कारागार व्यवस्थापन विभागका अनुसार उनीहरू लागुऔषध ओसारपसारदेखि यौन दुराचार लगायतका मुद्दामा सजाय काटिरहेका हुन्। कति कैदीबन्दी कुन अपराधमा दोषी पाइएका हुन् भन्नेबारे एकीकृत तथ्याङ्क चाहिँ आफूहरूसँग नरहेको विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले बताए। विभागका पूर्वनिर्देशक जनकराज दाहालको अनुभवमा चाहिँ विदेशी कैदीबन्दीमध्ये अधिकांश लागुऔषध कारोबारसम्बन्धी मुद्दाका दोषी हुने गरेका छन्।
जेठ मसान्तसम्म नेपाली कारागारमा विदेशी कैदीबन्दीको सङ्ख्या १,३३६ रहेको तथ्याङ्क छ।
सबैभन्दा धेरै कहाँका ?
नेपाली कारागारमा रहेका विदेशी कैदीमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेको तथ्याङ्कले देखाउँछ। जेठ महिनासम्म उनीहरूको सङ्ख्या १,१७५ रहेको छ जुन कुल विदेशी कैदीबन्दीको ८७.९४ प्रतिशत हुन आउँछ।तीमध्ये वाग्मती प्रदेशका कारागारमा सबैभन्दा धेरै ३८८ जना भारतीय कैदीबन्दी रहेका छन्। त्यसपछि मधेश प्रदेशमा २५९ जना भारतीय कैदीबन्दी छन्।
कर्णाली प्रदेशमा सबैभन्दा कम अर्थात् एकजना भारतीय कैदीबन्दी रहेको तथ्याङ्क छ। अर्को छिमेकी मुलुक चीनका २६ जना कैदीबन्दीले सजाय काटिरहेका छन्। भुटानका २२, पाकिस्तानका २१, बाङ्ग्लादेशका नौजना छन् भने अमेरिकाका तीनजना छन्। विभागका अनुसार रुस, डेनमार्क, जर्मनी, यूके, सिङ्गापुर, फ्रान्स, नेदरल्यान्ड, थाइल्यान्ड, जापान लगायत देशका पनि नागरिकहरू अहिले कैदीबन्दीका रूपमा कारागारमा रहेका छन्। -बीबीसी