Friday, September 18, 2026
Home स्थानीय सरकार मेलम्ची नगर अस्पताल संचालनमा

मेलम्ची नगर अस्पताल संचालनमा

402

काठमाडौं । यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो । शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । इन्द्रावती गाउँपालिकाका देव मगर, मेलम्चीमै श्रीमतीले शल्यक्रिया सहितको सुरक्षित निःशुल्क प्रसूति सेवा पाउँदा खुसी व्यक्त गर्नुहुन्छ । विगतमा गर्भवतीको असामान्य अवस्थामा आमा र बच्चा दुवैको जोखिम हुँदाँ सुरक्षित प्रसूतिकै लागि धुलिखेल र काठमाडौँसम्म लैजानुपर्ने बाध्यता थियो ।

सहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका दुर्गम ठाउँका स्थानीयलाई मुस्किल हुन्थ्यो । आफ्नै ठाउँमा अहिले विशेषज्ञ चिकित्सककै संलग्नतामा जटिल प्रसूति सेवा पाएपछि यहाँका गर्भवतीलाई राहत मिलेको इन्द्रावती गाउँपालिकाका अञ्जली मगर बताउछिन् । विभिन्न सेवाको विस्तारसँगै जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिनेको चाप बढेको छ । यसकारण गुणस्तरीय सेवाको लागि जनशक्तिको अभाव, भौतिक पूर्वाधार, आर्थिक प्रशासनलगायत अन्य क्षेत्रको अभाव खड्किएको मेलम्ची नगर अस्पतालका प्रमुख डा दामोदर पौडेलको भनाइ छ । पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रुपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनी स्वास्थ्य सेवा लिन सहज भएको छ ।