भक्तपुर । सडक मानवहरुको उद्धार र सेवा गर्दै आइरहेको मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा रस्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
कार्यालयले संस्थालाई रु १ लाख बराबर स्वास्थ्य उपकरण, तेहाँ रहेको मानसिक रोगका बिरामीहरुलाई करिब २ महिना पुग्ने गरि रु ८० हजार बराबरको औषधी सहयोग गरेको छ । सेवाघरमा रहेका ५० जनालाई स्वास्थ्य बीमा रु ३५ हजारको गर्न कार्यालयले सहयोग गरेको स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ढुंगानाले जानकारी दिइन् ।
स्वास्थ्य कार्यालय भक्तपुरका निमित्त कार्यालय प्रमुख शान्तिराम खतिवडाले वर्षेनी गर्दै आइरहेको जनचेतना सम्बन्धी कार्यक्रम यो वर्ष मानव कल्याणमा गरिएको बताए । कार्यक्रममा बोल्दै उनले भने “यहाँ रहेका जेष्ठ नागरिक र असहायहरुको सामान्य उपचार गर्न सजिलो होस् भनेर सानो उपचार कक्ष समेत बनाइदिएका छौैं । ”कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर अस्पतालकी संयोजक डा.मनिषा कार्कीले आफुले विगतमा पनि यस संस्थालाई सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताइन् । साथै कार्यालयका सम्पूर्ण कर्मचारीहरुले खाजा खर्च वाफतको रकम रु १० हजार समेत संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तातन्रण गरेका छन् ।
कार्यक्रममा संचारकर्मी पुष्करारज बुढाथोकी, जीवन विज्ञानका उमेशचन्द्र धौभडेललगायतले सबैले मिलेर यस्ता संस्थालाई सहयोग गर्नू पर्ने बताए । कार्यक्रममा स्वास्थ्य कार्यालयमा कर्मचारी, सेवाघरमा रहेका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।















