काठमाडौं । आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ।
काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था दिनभरि नै रहनसक्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम महाशाखाले जनाएको छ।
यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।














