सडक खन्ने क्रममा ५ सयभन्दा बढी प्राचीन सिक्का फेला परे

93

दाङ : तुलसीपुरमा सडक खन्ने क्रममा गाडेको अवस्थामा ५ सयभन्दा बढी प्राचीन सिक्का फेला परेका छन्।विहीबार सडक खन्ने क्रममा तुलसीपुर उपमहानगरपालिका ४ मा ५३७ वटा सिक्का भेटिएका हुन्। गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसिबी चालकले ती सिक्का भेट्टाएका थिए।चालक सुवास चौधरीले बाटाे खन्ने क्रममा उक्त सिक्का भेट्टाएका थिए भने अर्का चालक राजन खड्काले आफूलाई ती सिक्काकाे भाग पाउनु पर्छ भनेपछि दुबै जनालाई भागबन्डा गर्ने सहमति भएकाे थियाे।सिक्का भेटाएपछि २ जना जेसिबी चालकले भागबण्डा गर्ने भनेर सहमति गरेपनि चालक सुवास चौधरीले बाँड्न नदिएपछि यो कुरा बाहिर आएको थियो।

चालक खड्काले भने, ‘त्यो मलाई पनि चाहिन्छ, नत्र म यो कुरा बाहिर भन्छु भनेपछि चौधरीले हुन्छ, दिन्छु भन्ने कुरा भयो। उनीसँग मेरो चिनजान पनि थिएन। मैले फोन नम्बर मागेर फोन गर्दा तल आउनुस् भनेर बोलाएँ। अनि त्यहाँ जाँदा उनले फोन उठाएनन्। त्यसपछि जग्गाधनीलाई धन भेटिएको कुरा भनिदिएँ।’तुलसीपुर ४ रक्षाचौर निवासी शाेभा भण्डारीको जग्गामा झन्डै साढे दुई सय वर्ष भन्दा पुराना सिक्का एक कसौँडीमा भेटिएका थिए। त्यसपछि जग्गाधनी भण्डारीले उक्त कुरा प्रहरीलाई खबर गरेकी थिइन्।उनले फेला परेको धन सार्वजनिक काम बाटोमै लगाउन भनिन्। उनले एक कसौँडी भरी धन फेला परेको कुरा सुनेको भएपनि आज पिँधसम्म मात्रै गाडेको धन चौधरीको घरबाट बरामद भएको हुँदा थप अनुसन्धान गरी सत्य तथ्य कुरा सार्वजनिक गर्न माग गरेकी छन्।

यता प्रहरीले खबर पाएपछि अनुसन्धान गर्दै जाँदा उक्त सिक्का जेसिबी तुलसीपुर उपमहानगरपालिका १५ मलवारका २५ वर्षीय सुवास चौधरीले घरमै लुकाएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार ५३७ वटा सिक्का फेला परेको हाे।रा १ क १००२५ का चालक चौधरीले खेतमा सडकको नयाँ ट्रयाक खन्ने क्रममा ती प्राचीन सिक्का गाडेको अवस्थामा फेला पारेको उनको भनाइ छ। गाडेको अवस्थामा कसौँडीमा फेला पारेका ५३७ वटा चाँदीका प्राचीन सिक्का मध्ये ७६ वटा भारतीय एक रुपैयाँ लेखेका सिक्का रहेका छन्। त्यस्तै ४६१ वटा श्री ३ लेखेका नेपाली सिक्काहरू फेला परेका छन्।