नयाँदिल्ली । भारत सरकारले छोटो अवधिका लागि सेनामा भर्ती योजना ल्याएपछि युवाहरूले देशव्यापी विरोध सुरु गरेका छन् । सेनाको नियमित भर्ना रद्द गरी ४ वर्षे भर्ना योजना ल्याएपछि विपक्षी दलहरूले समेत आपत्ति जनाएका छन् । विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले ‘अग्निपथ’ कार्यक्रमको विरोध गरेका छन् । गान्धीले कुनै तह र पेन्सनबिनाको जागिर र चार वर्षपछिको अनिश्चितताले युवाहरूको अग्निपरीक्षा लिने काम भइरहेको बताएका छन् ।
सरकारले सेनामा ४ वर्षका लागि भर्ना लिने र त्यसपछि अवकाश दिने ‘अग्निपथ’ नामक सैन्य भर्ना कार्यक्रम सार्वजनिक गरेको हो । छोटो अवधिका लागि भर्ना भएकामध्ये २५ प्रतिशतले मात्रै सेनामा स्थायी जागिरको अवसर पाउनेछन् । बाँकीले अवकाश पाउँछन् ।
भारतले आफ्नो बजेटको ठूलो हिस्सा सुरक्षा क्षेत्रमा खर्चिने गर्छ । सुरक्षामा लगाइएको बजेटमध्येको ठूलो हिस्सा सैनिकको पेन्सनमा खर्च हुने गर्छ । सरकारले पेन्सनका लागि दिइने रकम घटाउन र कम खर्चमा ठूलो संख्यामा सैनिक भर्ती गर्नका लागि नयाँ योजना ल्याएपछि रुष्ट युवाहरूले विरोध थालेका हुन् । भारतको हालको रक्षा बजेट ६ लाख करोड रुपैयाँ छ । त्यसमा १ लाख २० हजार करोड पेन्सन वितरणमा खर्च हुने गरेको छ । र, दिन प्रतिदिन पेन्सनको व्ययभार बढ्दै गएको छ । यस वर्ष ४६ हजार युवालाई छोटो अवधिको सैनिक भर्ना गर्ने सरकारको तयारी छ । त्यो क्रम प्रत्येक वर्ष बढ्दै जाने जनाइएको छ ।
सेनाको जागिरलाई भारतमा उच्च सम्मानका साथ हेरिन्छ र अवकाशपछि भविष्यका लागि सामाजिक सुरक्षाका दृष्टिकोणले पनि राम्रो मानिन्छ । जसका कारण सेनामा भर्ना हुन युवाहरूको आकर्षण बढी छ । तर, सेनामा भर्ना हुने प्रतीक्षामा रहेका युवालाई सरकारको नयाँ नीतिले झस्काएको छ । उनीहरूले छोटो अवधिको सैन्य भर्तीले चार वर्षपछि बेरोजगार हुने स्थिति पैदा हुने भनेका छन् । साथै, पेन्सनबिनाको जागिरले सेनामा आकर्षण घटाउने उनीहरूको भनाइ छ । बिहार राज्यबाट सुरु भएको बिरोध प्रदर्शन भारतका विभिन्न प्रदेशमा फैलिएको छ । बिहीबार हरियाणा, हिमाचल, उत्तराखण्ड, राजस्थान, उत्तर प्रदेशलगायतका राज्यमा ठूलो संख्यामा युवाहरू प्रदर्शनमा उत्रेका हुन् । कतिपय ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बिहारमा गरिएको प्रदर्शनका क्रममा युवाहरूले रेलमा आगजनीसमेत गरेका छन् । त्यहाँ कतिपय स्थानमा रेल सेवा अवरुद्ध पारिएको छ ।














