युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सहयोगीले दैनिक २०० को हाराहारीमा आफ्ना सैनिक मरिरहेको बताएका छन्। जेलेन्स्कीका वरिष्ठ सहयोगी मिखायलो पोदोलियाकले रुसी सेनाविरुद्ध अग्रपंक्तिमा लडिरहेकामध्ये दैनिक १०० देखि २०० सैनिक मरिरहेको दाबी गरेका हुन्।यसअघि युक्रेनी रक्षामन्त्रीले दैनिक झण्डै १०० सैनिक मरिरहेको र ५०० सयभन्दा बढी घाइते भइरहेको बताएका थिए। पोदोलियाकले युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध जारी रहेको र रुसको सामना गरिरहन सयौँ पश्चिमी मिसाइलको आवश्यकता पर्ने बताए।जेलेन्स्कीका सहयोग पोदोलियाकले रुसले परमाणु बमबाहेक सबैजसो शक्तिशाली हतियार प्रयोग गरिरहेको भन्दै ती हतियारको सामना गर्न युक्रेनलाई पश्चिमा देशले ठूलो क्षमताका हतियार दिनुपर्ने बताए। बीबीसीसँगको कुराकानीमा उनले किभ मस्कोसँग फेरि शान्तिवार्ताका लागि तयार नरहेको बताए।