जग्गा प्लटिङ्गले चाँगुनारायणका दर्जनौं बस्ती जोखिममा, कुन-कुन बस्ती खतरामा थाहा पाउनुहोस्, फोटो सहित

561

भक्तपुर । भक्तपुरको जिल्लाको चाँगुनारायण नगरपालिकाका भित्रका विभिन्न वडामा अनधिकृत रुपमा प्लटिङ भइरहेका छन् । वडा न. १ देखि ९ सम्म सयौं स्थानमा भएका यस्ता प्लटिङ्ग सर्वसाधरणको खेतबारी, घर सबैमा नोक्सान पुर्याउन थालेको छ । अर्कोतिर सडक संरचनामा समेत यसलेको असर गर्न थालेको छ । दुवाकोट, झौखेल, चाँगु, छालिङ्ग, नगरकोट, बागेश्वरी, सुडाल, ताथलीमा रहेका प्लटिङ्ग वरपरका घर र खेतबारी जोखिममा परेका हुन् । यहाँ धेरै घरहरु समेत कुनैपनि बेला डुब्ने वा पहिरोमा पर्ने देखिन्छ ।

वडा न. ५ को छालिङ्गमा खोल्सामा हिम पाइप राखेर जग्गा सम्माउने काम भएकाले ठुलो पानी परेपछि वरपरका बस्ती डुब्ने नगरपालिका उपप्रमुख रमेश बुढाथोकीले बताए । वडाले समेत वैज्ञानिक आधार नहेरी बजेट दिएर खोल्सो पुर्ने काम गरेकाले विपद्को जोखिम बढेको उनको भनाई छ । नगरपालिकाले प्रमुख जीवन खत्रीले यस्तो कार्य रोक्न पत्राचार गरेपनि रोकिएको छैन् । स्थानीय सरकारलाई अटेरी गर्ने यस्ता प्लटिङ्गका मालिकहरुलाई कसरी कानुनी दायरामा ल्याउने भन्ने तयारीमा नगरपालिका जुटेको छ । माटो खार्ने र माटो सम्याउने नाममा डोजर चलिरहेको देख्न सकिन्छ । केही समयअघि चाँगुनारायण नगरपालिकाको ताथलीमा गरिएको अनाधिकृत प्लटिङको पहिरो जाँदा दुई जना कामदारको ज्यान गएको थियो ।

मानवीय कारणले विपद् आयोः नगरप्रमुख खत्री
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्लटिङले गर्दा विपद्को जोखिम ८० प्रतिशत बढेको बताउँछन् । नगरपालिका आयोजित विपद् सम्बन्धी बठैकमा उनले भने ‘प्रकृतिले होइन मावनको कारणले नै हाम्रो नगरपालिका बस्तीहरु जोखिममा परेका छन् ।’ यसलाई रोक्न सबै एकजुट भएर लाग्न समेत नगरप्रमुख खत्रीले आग्रह गरेका छन् ।