काठमाडौं : राष्ट्रियसभा सदस्य तथा नेकपा एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गरेका छन्। बुधबार राष्ट्रियसभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सभामा केही सांसदहरूले केपी ओली नेतृत्वको एमालेको सरकार भनेकोप्रति टिप्पणी गर्दै नेकपा एमालेको सरकार २०५१ सालमा मनमोहन अधिकारीको बाहेक अरू नभएको स्पष्ट पारे। ‘यहाँ केही साथीहरू भन्नुहुन्छ, केपी ओली नेतृत्वको एमाले सरकार। कहिले थियो इतिहासमा? इतिहासका पाना पल्टाएँ। मैले केपी ओलीजी पहिलोपटक प्रधानमन्त्री हुनुभएको थियो। २०७२ सालको असोज २२ गते। २०७३ साउन १९ सम्म हुनुभएको थियो। त्यतिबेलाको सरकार एमाले र माओवादीको संयुक्त सरकार थियो। म सुन्दैछु एमालेको सरकार रे, कसरी दुईवटा पार्टीको सरकार एमालेको हुन्छ’ उनले भने। महासचिव भुसालले मनमोहनको नेतृत्वको बाहेक एमालेको गठबन्धनबिना कुनै एकल सरकार नरहेको बताए। उनले सरकारले प्रस्तुत गरेको बजेटले गन्तव्य समातेको पनि बताए। अहिलेको बजेटलाई गलत भन्नु दृष्टिकोणहीन भएर गरिएको निर्णय भएको बताए। उनले भने, ‘दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो, र २०७८ असार २१ गतेसम्म रहनुभयो। पार्टी एकतापछि नेकपाको सरकार बनेको थियो। यो घाम जत्तिकै उज्यालोलाई छेकेर छेकिन्छ र? केपी ओलीजीले यस्तो गर्नुभएको थियो, केपी ओली नेतृत्वको एमाले सरकार कहिल्यै थिएन, होइन। एमालेको एकल सरकार २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा मात्रै थियो।’